काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरु टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत पाटनको आदेश माग गरेको छ। सोमबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उच्च अदालतबाट भएको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।
मंसिर १५ गते उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको थुनछेक आदेश सदर गरेको थियो। उक्त आदेशविरुद्ध रायमाझी र पाण्डेले पुस १२ गते सर्वोच्चमा निवेदन दिएका थिए।
निवेदन उपर सुुनवाइ गर्दै न्यायाधीश रेग्मीको इलासले उच्च अदालतको आदेश र त्यससँग सम्बद्ध मिसिल झिकाउन आदेश दिएको सर्वोच्च प्रशासनले जानकारी दियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड भने ३० लाख धरौटीमा रिहा भएका छन्।
प्रकाशित मितिः २०८० पौष १६ सोमबार
Comments