काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले माइतीघरमा लगाइएको निषेधाज्ञा तत्काल हटाउन माग गरेका छन्। सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग यसबारे माग गरेका हुन्।
उनले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए। सोमबार बिहान माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतसहित ५१ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो। उक्त क्षेत्रलाई निषेध गरेर बल प्रयोग गर्दै प्रदर्शनकारीलाई हटाइनु लोकतान्त्रिक नभएको थापाको भनाइ छ।
यस्तै, बालकुमारी घटनाको विषयमा उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदा हुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको उनको भनाइ छ। साथै उनले यस घटनाबारे श्रममन्त्री पनि जिम्मेवार हुनुपर्ने बताए।
प्रकाशित मितिः २०८० पौष १६ सोमबार
Comments