काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बसाउने तयारी थालेको छ । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको थियो ।
सो केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारी भइरहेको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए । केन्द्रीय समितिमा रहेकालाई विभागीय जिम्मेवारी दिनुको साथै भातृ सङ्गठन तथा विभिन्न समिति गठन गर्ने लगायतका काम सो बैठकबाट हुने उनले बताए । त्यस्तै, बैठकले केन्द्रीय समिति विस्तार पनि गर्ने बताइएको छ ।
वडा तहदेखि केन्द्रसम्म सङ्गठन विस्तारका कार्यक्रमहरू तय गरी अभियान नै सञ्चालन गर्ने गरी गृहकार्य सुरु भएको उनले बताए । वडा तहदेखि प्रदेशसम्म अधिवेशन गराएर पार्टीको महाधिवेशन समयमा सम्पन्न गर्ने गरी सो पार्टीमा छलफल सुरु भएको छ ।
लोसपामा हाल कार्यकारिणी समिति र केन्द्रीय समिति मात्र रहेको छ । त्यसबाहेक कुनै समिति बनेको छैन । युवा र विद्यार्थी सङ्गठनबाहेक अन्य भातृ सङ्गठन पनि बनेको छैन । भातृ सङ्गठन बनाउनका लागि पार्टीमा गृहकार्य चलिरहेको छ । पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरूसँग छलफल गरी भातृ सङ्गठन बनाउने गृहकार्य चलिरहेको लोसपाले जनाएको छ ।
प्रकाशित मितिः २०८० कार्तिक १६ बिहिबार
Comments