काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेनले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटमा होलेनले शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
जवाफमा ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको बताएका थिए । उनले अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको नेम्वाङको भनाइ छ ।
नेम्वाङका अनुसार भेटमा सिनेटर होलेनले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएका छन् । होलेन गत शुक्रबार नेपाल आएका थिए ।
प्रकाशित मितिः २०८० भदौ १७ आइतबार
Comments