काठमाडौं । राष्ट्रियसभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ। बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो।
बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताइन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ। शुक्रबार तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमालेले चल्न नदिने भएको हो। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरू बुधबारको विषयमा अडान रहेकाले सदन चल्न नदिने बताए। साढे एक बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइको छ।
प्रकाशित मितिः २०८० असार २२ शुक्रबार
Comments