काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै बिहीवार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको हो । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको भनी दिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।
देशको सार्वभौमिकता, देशको स्वाधीनता र स्वाधीन राष्ट्रलाई आँच आउने गरी यस्तो कुनै व्यक्तिबाट कुरा आउँछ भने त्यो एमालेका निम्ति सह्य नहुने उनको भनाइ छ । एमाले सांसदहरूले विरोध जारी राखेपछि राष्ट्रियसभाको बैठक शुक्रवार अपराह्न १२:२९ मा बस्नेगरी बोलाइएको छ ।
प्रकाशित मितिः २०८० असार २१ बिहिबार
Comments