काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई दिइने पैसा करको दुरुपयोग भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकारलाई आवश्यक नपर्ने बताए ।
नेपालमा राष्ट्रपतिलाई सुरुदेखि नै सल्लाहकार दिँदै आए पनि त्यो आवश्यक नरहेको उनले बताए । भारतको उदाहरण दिँदै सांसद पन्तले भने, ‘भारतमा अहिलेसम्म १५ जना राष्ट्रपति भइसके, तर एउटा सल्लाहकार छैन । राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी कानुन हेर्दा राष्ट्रपतिका ७ जना र उपराष्ट्रपतिका लागि ५ जना सल्लाहकार राख्ने प्रावधान छ,’ उनले भने, ‘मैले एक महिना जति भयो पढेको उपराष्ट्रपतिजीले विदेशमा सल्लाह दिने सल्लाहकार राख्नुभएछ । बडा गज्जब छ ! उपराष्ट्रपतिलाई विदेश मामिला सल्लाहकार दिन के आवश्यक पर्छ ?’
उनले राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद भएको टिप्पणी गरे । सल्लाहकारमा खर्च घटाउने गरी गरी संशोधन आवश्यक रहेको उनको भनाइ छ। आइतबार प्रतिनिधिसभामा मन्त्रीहरुले बजेटमाथि उठेका प्रश्नको उत्तर दिँदै छन् ।
प्रकाशित मितिः २०८० असार १० आइतबार
Comments