काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार(असार ८ गते) प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो।
सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिए।
उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए। यो महिना भने समूह १ मा रहेका प्रतिनिधिसभा सदस्यहरूको पालो रहेको उनले जानकारी गराए।
उनले भने, ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० असार ८ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु। साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समुहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको व्यहोरा जानकारी गराउँछु। नियम अनुसार प्रत्येक महिना प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा यसरी विभाजन गरिएको समूहमा रहेका सदस्यहरुले क्रमशः प्रश्न सोध्न सक्नुहुनेछ। र समूह १ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै दिनको पाँच बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउँछु।’
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै(मंगलबार) दिनको पाँच बजेसम्म प्रतिनिधिसभाका सचिव समक्ष लिखित रूपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरुलाई आग्रह गरेका छन्।
प्रकाशित मितिः २०८० असार ०५ मंगलबार
Comments