काठमाडौं । नेपाली कांग्रेसले संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरुमा बाढी-पहिरो र डुवानले पुर्याएको क्षतिप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।
अविरल वर्षा पछि आएको बाढी, पहिरो र डुबानमा परि केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन वटै तहका सरकारलाई आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले धेरै मानिसहरु वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्तिहरु घाइते भएको र कतिपय स्थानमा सडक मार्ग अवरुद्ध हुन पुगेको उल्लेख गरेको छ ।
सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि कांगेसले सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’
प्रकाशित मितिः २०८० असार ०३ आइतबार
Comments