काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राखेको हुन् ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताएका छन् । उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानुन, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताए ।
महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताएका छन् । न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभूति पनि हुनुपर्ने बताए । प्रकरणका दोषी कोही पनि छुट्नु नहुने उनको भनाइ छ ।
उनले भने, ‘अहिले जसरी आउन थालेको छ, एकप्रकारले लाजपनि लजाएको जस्तो भएको छ । को को परेको हो रु को को नपरेको हो रु सुन्दासुन्दै, बुझ्दै जाँदाखेरी हाम्रो वरिपरि भएका, हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने जस्तो लाग्न थालेको छ । तर यसमा सरकारको परीक्षा हेर्नुछ ।’
उनले यस प्रकरणमा सबै नागरिकले हेरिरहेकाले निष्पक्ष अनुसन्धान हुनुपर्ने तथा अनुसन्धान भएन, मैले गरिनँ भनेर कसैले यसबाट मुक्ति पाउने अवस्था नभएको र सरकारको परीक्षा पनि भएको बताए ।
उनले भने, ‘सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि अब न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरे भनेर मात्र पुग्दैन । न्यायको अनुभूति हुनुपर्छ । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक एक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् । चाहे त्यो नाता होस् । सलाम गर्ने होस् । सलामी लिने होस् । एकजना मान्छेपनि छुट्नु हुँदैन । दूधको दूध पानीको पानी हुनुपर्छ । आम नेपाली नागरिकले चाहेको कुरा यही हो ।’
उनले अनुसन्धान कसरी भइरहेको छ भन्नेकुरा आम नागरिकले हेरिरहेको पनि बताएका छन् ।
प्रकाशित मितिः २०८० जेठ १० बुधबार
Comments