काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले आज भेटघाट गरेको बताएको छ ।
भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार भेटमा प्रधानमन्त्री र सभामुखले संसदीय समिति गठनपछि संसदमा विचाराधीन विधेयकहरु टुंगोमा पुग्ने विश्वास जनाएको छ ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले एक अर्काबाट प्राप्त सहयोगप्रति खुशी व्यक्त गरेको बताइएको छ । संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेकामा प्रधानमन्त्रीले सह्राना गरेको थियो । जवाफमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएको जानकारी दिइएको छ ।
तर, सभामुखले प्रधानमन्त्रीसँग एउटा गुनासो पनि राखेका छन् । भेटवार्ताको संवाद उद्धृत गर्दै प्रेस संयोजक अधिकारीले भने, ’सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’
प्रकाशित मितिः २०८० जेठ ०२ मंगलबार
Comments