काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरूले भड्किलो कपडा लगाएर जान नपाउने भएका छन् । आइतवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा मर्यादित पोशाक लगाएर जाने सहमति भएको हो । अब सांसदहरूले टी-सर्ट, जिन्स पाइन्ट र अन्य भड्किलो कपडा लगाउन नपाउने भएका छन् ।
सांसदहरूको पोशाकलाई लिएर प्रश्न उठेपछि मर्यादित पोशाक लगाउन सभामुख देवराज घिमिरेले आग्रह गरेको एक सांसदले जानकारी दिए । ‘सकेसम्म आफ्नो संस्कृति झल्किने कपडा र त्यसमाथि कोट या बन्डी (तराईमा लगाइवे वेष्ट कोट) लगाउन सभामुखज्यूले प्रस्ताव गर्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले लोकान्तरसँग भने ।
कार्यव्यवस्था बैठकमा विषयगत समितिको पहिलो बैठक शीघ्र राख्ने बारेमा सहमति भएको छ । समिति यसअघि नै गठन भएका छन भने समितिको सभापतिको निर्वाचनको मिति तोकिएको छैन ।
प्रकाशित मितिः २०८० बैशाख ३१ आइतबार
Comments