काठमाडौं । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक साताभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्। उनले शुक्रबार नै पदभार ग्रहण गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले उत्पादन र आर्थिक गतिविधिसँग जोडिने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए। ‘प्रदेशले अर्काको मुख मात्र ताकेर योजना बनाउनुपर्ने अवस्था हुनु हुँदैन। आम्दानीका स्रोत बढाउने, आर्थिक गतिविधिलाई प्रभावकारी बनाउनेमा सरकारको जोड रहन्छ’, उनले भने।
पर्यटन, कृषि, जलविद्युत लगायत क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।आजै माओवादी केन्द्रकी सुशीला सिम्खडा र नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीले विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर समेत गरेका छन्।
प्रकाशित मितिः २०८० बैशाख १५ शुक्रबार
Comments