काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी आफूले नलिएको बताएका छन् ।
सर्वोच्च अदालतलाई गत चैत २७ गते पठाइएको लिखित जवाफमा प्रचण्डले आफूले कुनै जिम्मेवारी नलिएको बताएका हुन् । उनले आफूले भनेको कुरालाई राजनीतिक रुपमा बुझ्न उनले आग्रह गरेका छन् ।
उनले भनेका छन्, “२०७६ माघ १ गते पाँच हजार व्यक्ति मारेको भनी नैतिक जिम्मेवारी लिने साविती बयान दिएको र सो आधारमा तत्काल प्रचलित कानून बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने भनी रिट निवेदकले लिनुभएको जिकिर सम्बन्धमा प्रथमतः निवेदनमा उल्लेख भए जस्तो पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी लिएको अवस्था होइन ।”
उनका वारेस लोकमणि पोखरेल मार्फत पठाइएको लिखित जवाफमा प्रसंगवश व्यक्त भएको अभिव्यक्ति विशुद्ध राजनीतिक प्रसंग भएको र त्यसलाई न्यायिक प्रक्रिया बाहिरको विचार वा अभिव्यक्ति मान्नुपर्ने उल्लेख छ। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ज्ञानेन्द्रराज आरण र चिरञ्जिवीवास गिरी लगायतको रिटमाथि सुनुवाइ गर्दै गत फागुन २६ गते कारण देखाउ आदेश दिएको थियो।
अग्राधिकार दिइएको आदेशमा प्रधानमन्त्री प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिए पनि उनले एक महिनापछि मात्रै जवाफ पठाएका हुन् । १३ बुँदे लिखित जवाफमा कार्यव्यस्तताले गर्दा तोकिएको म्यादभित्र जवाफ दिन नसकेको उल्लेख गरिएको छ ।
रिटमा निवेदकहरूले आफ्ना परिवारका सदस्य लगायत पाँच हजार व्यक्तिको हत्याको जिम्मेवारी लिएकाले प्रचण्डलाई लाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश माग गरेका छन् ।
प्रकाशित मितिः २०७९ चैत्र ३० बिहिबार
Comments