काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल साइबर आक्रमणको प्रयास हुने देशहरूमा अग्र स्थानमा पर्ने बताएका छन्। सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकका सचिव अर्यालले साइबर सुरक्षासम्बन्धी नीति रहे पनि त्यसको सफल कार्यान्वयन हुन नसकेको धारणा राखे।
अर्यालले साइबर सुरक्षा नीति अन्तिम चरणमा पुगेको र अब चाँडै नै मन्त्रिपरिषद्मा पठाउने तयारी रहेको जानकारी दिए। साइबर सेक्युरिटीसम्बन्धी विधेयकको एउटा पहिलो मस्यौदा दर्ता भइसकेको र बृहत् छलफल गरेर छिटो क्याबिनेटबाट संसदमा लैजाने तयारी गरिरहेको बताए।
उनले सूचना प्रविधि विधेयक पनि मन्त्रालयमा आएको र संसदमा उठेका प्रश्नहरूको सम्बोधन गरी अघि बढाउने तयारीमा रहेको बताए। बैठकमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी उपनिर्देशक सफल श्रेष्ठले प्राविधिक विज्ञ कर्मचारीहरू प्रविधिको क्षेत्रमा सरकारी कोटामा ल्याउन नै कठिन अवस्था रहेको बताए। उनले सरकारी तवरबाट दिने सेवा सुविधामा प्राविधिक विज्ञहरूलाई टिकाउन नै गाह्रो भएको बताए।
प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार
Comments