काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले साेमबारको प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदकाे विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।
आज आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको स्मरण गर्दै सोमबार शतप्रतिशत पुग्ने आशा व्यक्त गरेका हुन् ।
‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९ दशमलव २५ थियो, उनले भने, ‘भोलि सय नै हुन्छ भन्ने आशा छ ।’
प्रधानमन्त्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।
शुक्रबार बालुवाटारमा बसेकाे १० दलीय बैठकले प्रधानमन्त्रीलाइ विश्वासकाे मत दिने सहमति गरेकाे थियाे । प्रधानमन्त्रीले विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने याेजना बनाएका छन् ।
प्रकाशित मितिः २०७९ चैत्र ०५ आइतबार
Comments