काठमाडौं । नेकपा माअोवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् भने जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ । जसपाका नेताहरुसँगको भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनको विषयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग भेटवार्ता गरिसकेका छन् ।
बुधबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष नेपालको टोली धुम्बाराही पुगेको थियो । र, धुम्बाराहीमा वार्ता सकेर कांग्रेस–एकीकृत समाजवादीको टोली बालुवाटार पुगेको थियो ।
आज साँझ पूरानो सत्तागठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक पनि बस्न लागेको छ ।
प्रकाशित मितिः २०७९ फागुन ११ बिहिबार
Comments