काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बमबार्ड हुन सक्ने गरी चलाउनुहोस् ।”
अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उनले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताए । देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको बताए ।
परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उनले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताए । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उनको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइराख्न पत्रकारलाई आग्रह गरे ।
सो अवसरमा डा. सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रू २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।
प्रकाशित मितिः २०७९ माघ २२ आइतबार
Comments