काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सभापति रवि लामिछाने नेपाली नागरिकता पुनः प्राप्त गरेका छन्। लामिछानेका सचिवालय प्रमुख दीपक बोहराका अनुसार सर्वोच्चको आदेश बमाेजिम लामिछानेकाे नागरिकता पुनः कायम भएको हाे।
नागरिकता पुनः प्राप्त गरेसँगै रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पार्टी सभापति बनाउने तयारी थालेकाे छ। स्राेतका अनुसार यसका लागि आजै केन्द्रीय समिति बैठक बाेलाइएकाे छ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै खारेज गरेको थियो।
नागरिकता खारेजीसँगै उनको सांसद पद, मन्त्री पद तथा पार्टी सभापति पद समेत गुमेको थियो। लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउन कानूनी प्रक्रिया थाले पनि नागरिकता नियमावली २०६३ को प्रक्रिया पूरा गरेका थिएनन्।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिकाे प्रक्रियामा नगएकाले नेपालको कानूनले उनलाई नेपाली नागरिक भनेर चिनेन। सर्वोच्च अदालतले उनकाे नागरिकता अवैध भन्दै सांसद पद समेत खारेज गरेको थियो। यही कारण रीतपूर्वक नेपाली नागरिकता पुनः प्राप्त गर्न उनी प्रशासन कार्यालय पुगेका थिए।
प्रकाशित मितिः२०७९ माघ १५ आइतबार
Comments