काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तमू समूदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन्। तमू ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमू समूदायको पहिचान नेपालमा मात्रै नभइ विश्वभर फैलिएको पनि बताए। तमू समूदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्नेसमेत बताए।
उनले तमू समूदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएकोसमेत स्मरण गराए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले तमू ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले तमू ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिए।
उनले भने, ‘गौतम बुद्धको जन्मभन्दा पहिलेदेखि नै तमूहरुले ल्होसार पर्व मनाउने गरेको, एउटा ऐतिहासिक र परम्परादेखि चल्दै आएको हामी नेपालीहरुले पनि गर्व गर्ने पर्व हो भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। तमू समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित छ।’
समारोहमा तमू समूदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीहरुसहितको नृत्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री दाहालले तमू समूदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरे।
प्रकाशित मितिः २०७९ पुष १५ शुक्रबार
Comments