काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गरे लगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने भएकाले आफूहरू सोही अनुसार अघि बढ्ने पनि स्पष्ट पारे । उनले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताए ।
सभापति लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए । अदालतको फैसला अनुसार नै आफूले प्रतिनिधि सभा सदस्यमा उठेको र शपथ ग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गरे ।
अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यस बारेमा आफूले केही पनि बोल्न नचाहेको उनको स्पष्टीकरण थियो । सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रूपमा पनि स्पष्ट रहेको जिकिर गरे ।
प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार
Comments