भक्तपुर । भक्तपुरका दुई निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । भक्तपुर १ मा एमालेका उम्मेदवार र भक्तपुर २ मा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
भक्तपुर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज गेलाल ७ हजार ३ सय ५४ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई निवर्तमान सांसद नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले ५ हजार ६ सय ८४ मतका साथ पछ्याइरहेका छन् । यो निर्वाचन क्षेत्रलाई नेमकिपाको पडक क्षेत्र मानिँदै आएको थियो ।
यो क्षेत्रमा राप्रपाका भरतबहादुर खड्का तेस्रो स्थानमा छन् । उनले ४ हजार ८ सय १ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सुनिल गोठेले २ हजार ६ सय ११ मत ल्याएर चौथो स्थानमा रहेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीले १४ हजार ९६ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई सो क्षेत्रका निवर्तमान सांसद एमालेका महेश बस्नेतले पछ्याइरहेका छन् । मंगलबार दिउँसो १ बजेसम्मको मतगणना अपडेटअनुसार १३ हजार ४३ मत आएको छ । यो क्षेत्रमा नेमकिपाकी अनुराधा थापामगरले ३ हजार ५ सय २० मत प्राप्त गरेकी छन् ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments