काठमाडौं । मतगणना क्रममा अन्य निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टी र ठूला दलबीच प्रतिस्पर्धा देखिएपनि काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टी बीच प्रतिस्पर्धा भइरहेको छ ।
सत्ता गठबन्धनसहितको एकीकृत समाजवादी र एमाले उम्मेदवारलाई पछि पार्दै नवगठित पार्टीबीच प्रतिस्पर्धा भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ (घण्टी चुनाव चिन्ह)ले अग्रता लिएका छन् भने उनलाई हाम्रो नेपाली पार्टी (लौरो चुनाव चिन्ह) का उम्मेदवार सुमन सायमीले पछ्याइरहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म श्रेष्ठले ६ हजार १ सय ९ मतसहित अग्रता लिएका छन् भने सायमीले ४ हजार ६ सय १३ मत ल्याएका छन् । विराजभक्त विवेकशील पार्टीबाट वाग्मती प्रदेशको सांसद हुँदै राजनीतिमा उदाएका हुन् । सायमी स्थानीय मुद्दा उठाउँदै राजनीतिमा सक्रिय छन् ।
गठबन्धनतर्फका उम्मेदवार तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २ हजार ४ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै, एमाले उम्मेदवार शिवसुन्दर राजवैद्यले २ हजार ३ सय ४७ मत ल्याएका छन् । उनी जिल्ला समन्वय समिति काठमाडौंका पूर्वप्रमुख समेत हुन् ।
काठमाडौं क्षेत्र नम्बर ८ मा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडाका कालीमाटी, बाफल, छाउनी, ढोकाढोल, भीमसेनस्थान, वसन्तपुर, विजेश्वरी, स्वयम्भू, शोभाभगवती, नागार्जुन नगरपालिकाका ४ र ५ वडाका सीतापाइला, सोल्टीदोबाटो यस क्षेत्रमा पर्छन् ।
गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसभन्दा एमालेले बढी मत प्राप्त गरेको थियो । तर कांग्रेस, एकीकृत समाजवादी र माओवादीको मत जोड्दा गठबन्धन अगाडी देखिन्थ्यो । त्यहाँ प्रतिनिधि सभामा १९ जनाले उम्मेदवारी दिएका थिए ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments