काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेका युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्ट रहेको भन्दै अब युवाको योग्यता र क्षमताको कदर हुने गरी नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान भिडियो सन्देशमार्फत् ०४६ सालको परिवर्तनपछि मुलुकले सामाजिक र आर्थिकरुपमा विकासको फड्को मारेपनि अझै धेरै कामहरू गर्न बाँकी रहेको स्मरण गरेका छन् ।
यो निर्वाचनमा शीर्ष नेताहरूविरुद्व देशभर युवाहरूले उम्मेदवारी दिएका छन् । युवाको उम्मेदवारी कतिपय शीर्ष नेताहरूकै लागि चुनौतीपूर्ण बनिरहेका बेला प्रधानमन्त्री देउवाले युवाको योग्यता र क्षमताको कदर गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले सीमान्तकृत समुदायको हक अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको उत्थानमा नेपाली कांग्रेसको सरकारले महत्त्वपूर्ण कामहरू गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री देउवाले निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको आत्माकोरुपमा रहने व्याख्या गर्दै यस्तो ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हुने बताए । उनले यो निर्वाचनमा जारी हुने मतले अबको मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने बताए ।
प्रधानमन्त्री देउवाले आफूहरू कुरामात्रै गर्ने नभएर काम गर्ने नेतृत्व हो भनेर बुझ्न आग्रह गरेका छन् ।
प्रकाशित मितिः २०७९ मंसिर ०१ बिहिबार
Comments