भक्तपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नं २ प्रदेश सभा क को सदस्यका लागि नेपाली कांग्रेसबाट युवा नेता एवं जिल्ला सदस्य दिपेन्द्र थापामगरले दाबी प्रस्तुत गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका वडा नं। ८ को वडा अध्यक्ष पदमा दाबी गरे पनि टिकट नपाएका युवा नेता थापामगरले प्रदेश सभा सदस्य पदका लागि आफू योग्य रहेको भन्दै दाबी प्रस्तुत गरेका हुन् ।
पेशाले इञ्जिनियर रहेका थापामगरको उम्मेद्वारमा दाबीसँगै अहिले उनी युवाहरुको ढुकढुकी बनेका छन् ।
युवाहरुमा लोकप्रिय बनेका युवा नेता थापामगर जनताको समस्या र विकासलाई बढी प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता आफूसँग रहेको बताए ।
सन् २०१५ मा अमेरिकाको डिभी परे पनि नेपालमै केही गर्नु पर्छ भनी अमेरिका नगएका थापामगरले सूर्यविनायक नगरपालिकाको इञ्जिनियर पदमा बसेर काम गरिसकेका छन् ।
नेपाली कांग्रेस भक्तपुर–२ क को प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फ ९ जना आकांक्षी देखिएपनि युवा नेता उनी बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । पार्टीले मूल्यांकन गरी टिकट उपलब्ध गराउने विश्वास रहेकोले कांग्रेसको अभियानलाई सार्थक बनाउन आफू लागि परेको उनको कथन छ ।
राजनीति व्यवसाय हैन् समाजसेवा भएको बताउँदै थापामगरले भने, ‘आफूले टिकट पाएर विजयी भएका जनताको मन जित्ने र जनताको समस्या समाधान गर्ने कामलाई बढी प्राथमिकता दिन्छु ।’
प्रदेश सभा क्षेत्र नं। २ ख मा सूर्यविनायक नगरपालिकाको पुरै भाग रहेको छ । २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा नेकपा एमालेका बासुदेव थापा विजयी भएका थिए भने २०७४ सालको प्रदेश सभाको निर्वाचनमा पनि एमालेकै शशिजंग थापा निर्वाचित भएका थिए । त्यसै कारण आगामी निर्वाचनमा पनि यस क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सजिलो भने छैन् ।
प्रकाशित मितिः २०७९ भदौ १५ बुधबार
Comments