काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफैँले गरेको बताएका छन्। उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नमान्दा त्यो प्रावधानसहितको विधेयक पेस हुन नसकेको बताए।
‘वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्ष प्रावधान राख्नुपर्छ भनेर मैले भनेको हो। तर राज्य व्यवस्थामा त्यो विषयमाथि सहमति भएन। यस विषयमा एमाले पनि विभाजित भयो। अन्ततः बहुमतले पारित भएको छ,’ उनले भने।
संसदीय समितिमा सहमति नजुट्दा बहुमतबाट निर्णय गरिएको बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नमानेका कारण संसदको बैठकमा ७ वर्षे प्रावधानसहितको विधेयक पेस हुन नसकेको दाबी गरे।
वैवाहिक अंगीकृतको सबालमा ७ वर्षे प्रावधान राख्नुपर्छ भनेर जोड गरेपनि एमालेले नमानेको बताए। उनले त्यतिबेला आफूले नै वैवाहिक अंगीकृतको सबालमा भारत र नेपालको बराबरी गर्नु राम्रो हुनुपर्ने धारणा राखेको बताए।
तत्कालीन केपी शर्मा ओली सरकारले वैवाहिक अंगीकृत हटाएर अध्यादेश ल्याएको प्रचण्डको दाबी छ। ७ वर्षे समयसीमाबारे सत्ता गठबन्धनमा सहमति नभएको उनले बताए।
प्रकाशित मितिः २०७९ भदौ १३ सोमबार
Comments