काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आफ्नो सरोकारको विषयमा जवाफ दिनका लागि प्रधानमन्त्री नआएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई जवाफ दिन समय दिएपछि सांसद सुवालले नियमापत्ति गरेका हुन्। उनले प्रधानमन्त्रीलाई नै जवाफ दिने बन्दोबस्त गर्न सभामुखसँग माग गरेका थिए।
‘यो गरिमामय संसद्मा प्रधानमन्त्री किन उपस्थित हुनसक्नुभएन? बिरामी हुनुहुन्छ कि? विदेश जानुभएको हो कि? कुनै अस्पतालमा भर्ना हुनुभएको हो कि? यो गरिमामय संसद्मा आफ्नो जिम्मेवारीको विभागको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। र बिरामी हुनुहुन्छ वा विदेश जानुभएको छ भने संसद्लाई जानकारी दिनुपर्छ’, सुवालले भने।
उनले बिना जानकारी प्रधानमन्त्री संसद्मा अनुपस्थित हुन नमिल्ने बताए। सभामुख अग्निप्रसाद सापकोटाले भने प्रधानमन्त्रीको विषयमा संसद्लाई चिठी आएको बताए। कार्यव्यस्तताका कारणले उनी नआएको जानकारी गराए।
प्रकाशित मितिः २०७९ असार ०२ बिहिबार
Comments