काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज साँझसम्म मनोनयन फिर्ता लिन पाउने भएका छन् ।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । साथै आजै साँझ ५ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि बिहीबार साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो ।
शुक्रबार भने उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १ सय ४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।
आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५ सय १८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।
अध्यक्षमा तीन हजार ३ सय ९२, उपाध्यक्षमा दुई हजार ४ सय ७, वडाध्यक्षमा ३५ हजार ३ सय ८०, महिला सदस्यमा २६ हजार ५ सय ५६, दलित महिला सदस्य २३ हजार ९ सय ५१ र सदस्यमा ५५ हजार ७ सय ६७ जनाको मनोनयन दर्ता भएको छ ।
आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
प्रकाशित मितिः २०७९ बैशाख १६ शुक्रबार
Comments