काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
एक घण्टा ३० मिनेटभन्दा बढी समयदेखि प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनले वैचारिक तथा राजनीतिक दस्तावेजको चार भाग प्रस्तुत गरिरहेका छन् ।अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ ।
स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।
प्रकाशित मितिः २०७८ पुस १२ सोमबार
Comments