काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खुलातर्फका केन्द्रीय सदस्यहरुको मतगणना आज पनि जारी छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय सदस्य पदतर्फको मतगणना शनिबारदेखि जारी रहेको हो ।
खुलातर्फका ३५ जना केन्द्रीय सदस्य चयन गर्ने कांग्रेस विधानको व्यवस्था छ । शनिबार सुरु भएको मतगणना राति स्थगित गरेर आइतबार बिहान पौने ११ बजेबाट फेरि जारी राखिएको हो ।
पार्टीको केन्द्रीय सदस्यका लागि खुलातर्फ ९९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । यीमध्ये सर्वाधिक मत ल्याउने ३५ जना विजयी हुनेछन् भने अरु पराजित हुनेछन् ।
शनिबार रातिसम्मको मतगाणनाका आधारमा अहिलेसम्म डा. शशांक कोइराला १ हजार ९७१ मतका साथ सबैभन्दा अगाडि देखिएका थिए । सभापतिका आकांक्षी कोइराला अन्तिम समयमा केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेका थिए ।
उनीपछि एनपी साउद, बालकृष्ण खाँण, रमेश लेखक लगायत नेताहरु केन्द्रीय सदस्यको बढी मत ल्याउनेमा परेका छन् । इद्यपि अन्तिम नतिजामार्फत नै उनीहरुको टुंगो लाग्ने देखिन्छ ।
प्रकाशित मितिः २०७८ पुस ०४ आइतबार
Comments