काठमाडौँ । म्यूजिक भिडियो निर्देशक कमल एकचै मगरको निर्देशनमा फिल्म ‘डेसान’ बन्ने भएको छ । यही बुधवारबाट छायांकनमा जान लागेको यो फिल्मबाट निशान चौहानले नायकको रुपमा डेब्यू गर्दैछन् । ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत रहेका उनी बाल्यकालदेखिको हिरो बन्ने सपना ‘डेसान’ बाट पूरा हुन लागेकोमा खुसी छन् ।
फिल्ममा उनीसँगै नम्रता सापकोटा, पुनम थापा, भोलाराज सापकोटा, कविता आले, नुरुङ राई, आरुष जंग सारुलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई चक्र महर्जनले खिच्नेछन् । ‘डेसान’ बाट नायकको परिचय थप्न लागेका निशानले फिल्मको कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न राजी भएको बताए ।
फिल्मलाई लिएर उत्साहित रहेको बताउँदै उनले भने- ‘फिल्ममा मेरो भूमिका एकदमै भिन्न छ । म वास्तवमा जस्तो छु त्यसको ठीक उल्टो फिल्ममा मेरो भूमिका छ । यही कारण नै म फिल्म गर्न राजी भएको हुँ ।’ आफूले पाएको भूमिकालाई इमानदारपूर्वक निर्वाहा गर्न कोशिश गर्ने उनी बताउँछन् । स्क्रिप्ट र टिम दुवै राम्रो भएका कारण फिल्म पनि राम्रो बन्ने उनको विश्वास छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments