काठमाडौँ । बलिउड फिल्मका लागि चीन निकै ठूलो बजार हुन थालेको छ । चीनमा केही समयता बलिउड फिल्मको माग चर्को हुने गरेको छ । जसकारण त्यहाँ बलिउड फिल्महरुले सजिलै सय करोड कमाउन थालेका छन् । चीनमा आमिर खानको फिल्म ‘थ्री इडियट्स’ ले बलिउड फिल्मको बजार स्थापित गरेको थियो । त्यसपछि चीनमा बलिउड फिल्महरुले राम्रो कलेक्सन गर्दै आएका छन् ।
चीनका फिल्मकर्मीका अनुसार, चीनमा हलिउड र बलिउड फिल्म किन्ने तरिका लगभग एउटै हो । वितरकले एक न्यूनतम ग्यारेन्टी दिनुपर्छ, कहिले काहीँ उनीहरुलाई मुनाफामा पनि हिस्सेदारी दिनुपर्छ । चीनका एक वितरकका अनुसार, बलिउड फिल्महरुले पछिल्लो समय हासिल गरेको सफलताका कारण चीनमा भारतीय फिल्मको मुल्य हलिउड फिल्मभन्दा बढी भएको छ ।
सीमा विवादका कारण चीन र भारतबीच राम्रो सम्बन्ध नहुँदा पनि बलिउड फिल्मका लागि चीनको ढोका खुल्ला छ । तर, नेपाल र चीनबीच सुमधुर सम्बन्ध हुँदा पनि नेपाली फिल्मले चीनमा प्रवेश पाएका छैनन् । अझ भनौं, चीनमा प्रदर्शनका लागि प्रयास नै गरिएको छैन । निर्देशक दीपेन्द्र के। खनाल भने आफू निर्देशित फिल्म ‘आमा’ लाई चीनमा प्रदर्शन गर्ने प्रयासमा जुटेका छन् ।
उनले फिल्मीखबरसँग फोनवार्तामा भने- ‘अब हामीले चाइनामा बजार खोज्न आवश्यक छ । बलिउडका फिल्मले त्यहाँ कब्जा जमाइसकेको अवस्था छ । कन्टेन्ट राम्रो भए चीनमा फिल्म प्रदर्शन गर्न सकिन्छ । मैले ‘आमा’ चीनमा प्रदर्शनका लागि प्रयास गरिरहेको छु ।’ उनले अनलाइन स्ट्रीमिङ प्लेटफर्म नेटफ्लिक्सका लागि पनि चाँडै आफू प्रयास गर्ने सोचमा रहेको बताए ।
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ लाई दर्शक र समीक्षकबाट उम्दा प्रतिक्रिया मिलेको छ । प्रदर्शनको दुई दिन ‘सेन्टी भाइरस’ का कारण व्यापारमा ठूलो असर परे पनि आइतबारबाट फिल्मले हलमा दर्शकको चाप बढाउँदै लगेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म लामो रेसको घोडा बन्ने देखिएको छ । समीक्षकले फिल्मलाई ‘अब्बल’ भनेका छन् ।
प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार
Comments