काठमाडौँ । यही शुक्रवारबाट यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘आमा’ प्रदर्शन हुँदैछ । ‘पशुपति प्रसाद’ जस्तो यादगार फिल्म दिएका दीपेन्द्र के. खनालले निर्देशन गरेका कारण यो फिल्ममाथि अपेक्षा उच्च छ । ट्रेलरले राम्रो हाइप निर्माण गरेको फिल्ममा अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् । यसमा उनीहरुले आमा-छोरीको भूमिका निर्वाहा गरेका छन् ।
अर्गानिक फिल्म खोजिरहेका दर्शकलाई ‘आमा’ रुचिकर हुनसक्ने विश्वास गरिएको छ । तर, जब कुनै कुरामा आशा र अपेक्षा बढ्न थाल्छ, त्यहाँ निराशाको डर पनि बढ्छ । ट्रेलर हेरेपछि फिल्मप्रति जुन प्रकारको अपेक्षा बढेको छ, त्यसअनुसार कथावस्तु र प्रस्तुती बलियो नभए दर्शकलाई ठूलो धक्का लाग्न सक्नेछ । यसकारण, निर्देशक खनालका लागि यो अवसर र चुनौती दुवै हो ।
यसबीच, फिल्म प्रदर्शनको अघिल्लो दिन निर्माण टिमले विशेष घोषणा गरेको छ । काठमाडौंका केही सिनेमा घरमा आफ्नो आमासँग जाँदा निःशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरिएको छ । काठमाडौंको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक खनालले बताए ।
‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ यो घोषणा गरिएको उनले बताए । हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको भनाई छ । आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने फिल्ममा मिथिला र सुरक्षाका अलावा सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो ।
प्रकाशित मितिः२०७६ फागुन ०८ बिहिबार
Comments