काठमाडौँ । हिट फिल्म ‘होस्टेल’ को सिक्वेलबाट अभिनेताको रुपमा सुखद डेब्यू गरेका सुशील श्रेष्ठको नयाँ फिल्म ‘लभ डायरीज’ आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘होस्टेल रिर्टन्स’ पछि हिटको सुख प्राप्त गर्न नसकेका उनी यो फिल्मबाट निकै आशावादी छन् । फिल्ममा उनले मोजमस्तिमा तल्लिन हुने युवकको भूमिका निभाएका छन् । उनको अपोजिटमा रुविना थापा छिन् ।
यो फिल्मको एक सिनमा सुशील टपलेस अवतारमा देखिएका छन् । छायांकन बेलाको एक तस्विरमा उनी तावेल मात्र लगाएको अवस्थामा देखिएका छन् । तर, फिल्मको ट्रेलरमा भने त्यो दृश्य राखिएको छैन । उनले पहिलो पटक सर्ट खोलेर आफ्नो ज्यान देखाएका भने होइनन् । यसअघि उनी ‘होस्टेल रिर्टन्स’ र ‘कारखाना’ फिल्ममा पनि सर्टलेस अवतारमा प्रस्तुत भएका थिए ।
सबैलाई थाहा छ कि सुशीलको शरीर सुगठित छ । उनी दैनिक जिममा घन्टौं विताउने गर्दछन् । तर, हरेक फिल्ममा आफ्नो ज्यान देखाउन उनी किन आतुर हुन्छन् ? आफ्नो शरीर राम्रो भएको देखाउनका लागि त होइन ? आइतवार एक भेटमा उनले आफूलाई फिल्ममा ज्यान देखाउन मन नलाग्ने बताए । फिल्मको कथाको मागका कारण ज्यान देखाउने गरेको उनको भनाई छ ।
उनले भने, ‘मेरो शरीर त्यस्तो थिएन । म दुब्लै थिए । ‘लभ डायरीज’ कै लागि मैले सिक्स प्याक बनाएको हुँ । फिल्ममा त्यो सिच्वेसनको माग हो । मेरो रहरले देखाएको होइन ।’ उनी आफ्नो ज्यान देखाएर आफैं दिक्क भैसकेका रहेछन् । ‘अहिले विज्ञापनमा समेत बडी देखाउन भन्नुहुन्छ । कति ज्यान मात्र देखाउने भनेर अहिले सर्टलेस हुन कम गरिसकेको छु,’ उनी सुनिए ।
‘होस्टेल रिर्टन्स’ पछि अभिनेता सुशील प्रायः लभर ब्वाईकै भूमिकामा देखिँदै आएका छन् । हरेक फिल्ममा उनको भूमिका लगभग एकैखाले छ । कलाकार भएपछि एकैखाले भूमिकामा रुमलिनु राम्रो हो रु पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘डेब्यू फिल्ममा मलाई लभर ब्वाईको भूमिकामा रुचाइयो । बीचमा मैले भिन्न भूमिका गर्ने प्रयास नगरेको होइन । तर, दर्शकले रुचाउनुभएन ।’
उनले ‘लभ डायरीज’ मा पनि आफू लभर ब्वाईकै भूमिकामा रहेको बताए । तर, दर्शकलाई आफ्नो भूमिका मनपर्ने उनको विश्वास छ । त्रिकोणात्मक प्रेमकथामा निर्मित फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । प्रेम दिवसबाट प्रदर्शन हुने फिल्ममा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
प्रकाशित मितिः २०७६ माघ २८ मंगलबार
Comments