काठमाडौँ ।साउथका सुपरस्टार प्रभासलाई ‘बाहुबली’ सिरिजमा काम गरेपछि संसारले चिन्यो । उनको फिजिकमा युवतीहरु पहिलादेखि नै फिदा थिए अब उनको एक्सनको पनि फ्यान भएका छन् । आउँदो अगस्ट ३० (भाद्र १३) मा प्रदर्शन हुन लागेको फिल्म ‘साहो’ बाट उनले बलिउडमा पनि इन्ट्री गरेका छन् । उनको बलिउड डेब्यू पनि सानदार हुने अनुमान गरिएको छ ।
तर, एउटा कुरा उनको करिअरका लागि घातक साबित हुनसक्ने कतिपयको विश्लेषण छ । बलिउडमा एक एक्टरलाई लामो रेसको घोडा बन्न सफलताको मापदण्ड महत्त्वपूर्ण हुन्छ । कुनै पनि कलाकार रोमान्टिक, एक्सन वा कमेडीबाट मात्र सफलताको उत्कर्षमा पुग्न सक्दैन । एक समय यस्तो पनि आउँछ, जब दर्शकले उसलाई नकार्न सुरु गर्छन् ।
देव आनन्द, मिथुन चक्रवर्ती, राजेश खन्ना र गोविन्दा जस्ता कलाकारलाई यो लिस्टमा राख्न सकिन्छ, जो एकै जनराको फिल्ममा काम गरिरहे र एक समयपछि दर्शकले उनीहरुको फिल्म नकार्न थाले । अभिनेता शाहरुख खानसँग पनि अहिले यही भइरहेको छ । उनका पछिल्ला कुनै फिल्म चल्न सकेका छैनन् । कलाकार भएपछि भर्सटायल हुनुपर्छ ।
अभिनेता प्रभासले पनि एक्सन फिल्ममा मात्र आफूलाई सीमित राख्नु करिअरका लागि घातक साबित हुनसक्छ । गएको ५ वर्षमा उनी ठूलो प्रोजेक्टको मात्र हिस्सा बनिरहेका छन् । यसको कारण उनले फिल्म पनि कम गरेका छन् भने लगातार एक्सन फिल्म मात्र गरिरहेका छन् । अभिनयको प्रशंसा हुने गरेता पनि उनी एउटै जनराबाट निस्कन आवश्यक छ ।
एक पुरानो अन्तर्वार्तामा प्रभासले यो कुराको बारेमा बताउँदै भनेका छन्, ‘म अलग-अलग जनराको फिल्म गर्न चाहन्छु । ‘बाहुबली’ पछि मानिसमा मप्रति निकै ठूलो अपेक्षा र विश्वास छ । यसकारण अब म दर्शकको विश्वासमाथि खरो उत्रने प्रयास गर्नेछु । मलाई ठूलो प्रोजेक्टमा काम गर्नका लागि कन्फर्ट जोन बनेको छ । यसबाट म बाहिर निस्कन चाहन्छु ।’एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार
Comments