काठमाडौं । बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र एक्सन हिरो टाइगर श्राफ एकसाथ एउटै फिल्ममा अभिनय गरेको फिल्म ‘वार’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको फिल्मको पोस्टरमा मुख्य भूमिकामा रहेका ऋतिक र टाइगरका साथमा अभिनेत्री बाणी कपुरलाई समेत स्थान दिइएको छ ।
‘टू हिरोज वान वार’ को ट्यागलाइन राखिएको यस वर्षको बहुप्रतीक्षित चलचित्रको केही दिनअघि रिलिज गरेको टिजरले दर्शकमा निकै कौतूहलता बढाएको छ । फिल्ममा ऋतिक र टाइगरको दुश्मनी देखाइएको छ । फिल्ममा वाणीले यी दुईसँग रोमान्स गरेकी छन् । फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दले निर्देशन र आदित्य चोपडाले निर्माण गरेका हुन् ।
‘वार’ एक एक्सन प्रधान फिल्म भएका कारण यस फिल्ममा जीवन्त एक्सन सिन देखाउन कुनै पनि कसर बाँकी नराखेको फिल्मका निर्देशकले बताएका छन् । फिल्मलाई विभिन्न ६ वटा देशमा छायांकन गरिएको भने फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिने भएको छ ।
ठूलो बजेटमा निर्माण भएको यस फिल्मबाट टाइगर र ऋतिकले पहिलोपटक सँगै काम गरेका हुन् । आफ्नो अभिनय, बडी र डान्सका कारण चर्चामा आउने टाइगर र ऋतिकलाई संगै हेर्न दर्शकहरु निकै उत्साहित रहेका छन् भने फिल्ममा अहिलेसम्म कुनै फिल्ममा पहिला कहिल्यै नदेखेको अद्भुत एक्सन देखिने भएको छ । निर्माण टिमले आगामी अक्टूबर २ अर्थात् असोज १५ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेका छन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १ आइतबार
Comments