काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा थुप्रै हिट चलचित्र दिइसकेका नायक आर्यन सिग्देल अहिले एउटा ठूलो ब्यानरको चलचित्रका लागि तयार हुँदैछन् । यस चलचित्रका लागि उनले महंगो पारिश्रमिक लिएको बताइएको छ । फिल्म हो, चर्चित निर्देशक विकाशराज आचार्यको ‘हजार जुनीसम्म’ । मंसिरको दोस्रो साताबाट छायांकनमा जान लागेको यस फिल्मका लागि आर्यन बेग्लै तरिकाले तयार हुँदैछन् ।
‘नाइ न भन्नु ल’ सिरिजका निर्देशक आचार्यको यस फिल्ममा आर्यनले बिछोडिएको प्रेमीको भूमिका निभाउन लागेका छन् । जसका लागि उनले फरक गेटअप बनाएका छन् । गोलो अनुहार र चकलेटी फेसका कारण नेपाली फिल्म क्षेत्रमा एक समय सर्वाधिक रुचाइएका नायक सिग्देलले गालाभरी दाह्री पालेका छन् ।
यस चलचित्रमा मुख्य भूमिका निभाउन लागेका आर्यनले डेढ महिनादेखि दाह्री पालिरहेका छन् । अहिले उनलाई बाक्लो दाह्रीका कारण ठम्याउन पनि मुश्किल हुन्छ । उनले दाह्री पालेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा धेरैले उनलाई चिन्ने नसकेको जस्तो प्रतिक्रिया दिएका छन् । अब यस फिल्ममा आर्यनको फरक गेटअप दर्शकले कतिको रुचाउलान् रु यो भने हेर्न बाँकी छ ।
यस फिल्ममा आर्यनको जोडीका रुपमा नायिका प्रियंका कार्कीले काम गर्दैछिन् । यी दुईले यसअघि ‘कलिउड’, ‘छक्का पञ्जा’, ‘माला’ र ’नाईँ नभन्नू ल ३’ मा सँगै काम गरेका थिए । यसैगरी यस चलचित्रमा आर्यन र प्रियंकाबाहेक स्वस्तिमा खड्का र अकी प्रधान पनि जोडिएका छन् । यस फिल्ममा स्वस्तिमा र अकीले पनि जोडीको भूमिका निभाउँदै छन् ।
प्रकाशित मितिः २०७५ मंसिर १ शनिबार
Comments