काठमाडौं । चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गईरहेको छ । देशभित्र मात्र नभई विदेशमा पनि छक्का पन्जा ३ को माग बढ्दै गइरहेको हो । नेपाली चलचित्रको सबैभन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ ।
अमेरिकामा यस अघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा २ र लूट २ को ३ हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिएको छ ।
नेपालीहरुको बाक्लो बसोबास हुँदै गरेको अमेरिकाको डालस टेक्सासमा अहिले छक्का पन्जा ३ ले बिदेशी भुमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ । चलचित्रले हालसम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने जानकारी डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस्ले जनाएको छ ।
चलचित्र छक्का पन्जा ३ लाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन् । यो रेकर्डसँगै अब नेपाली चलचित्रले देशभित्र मात्र नभई बिदेशी भूमिमा समेत प्रभाव बढाएको छ ।
दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments