काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौटले भारतीय जनता पार्टीका तर्फबाट लोक सभा निर्वाचनमा टिकट पाएकी छिन्। उनी हिमाचल प्रदेशको मण्डी लोक सभा निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार बन्ने भएकी हुन्।
भाजपाले आइतबार साँझ जारी गरेको उम्मेदवारहरूको पाँचौँ सूचीमा उनको नाम छ। भाजपाले २०२४ का लागि जारी गरेको उम्मेदवारहरूको पाँचौँ सूचीमा कंगनासहित १११ सिटका उम्मेदवारको नाम समावेश छ।
उम्मेदवारको टिकट पाएपछि कंगनाले ट्वीट गरेकी छिन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भारतीय जनता पार्टीलाई बिना सर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोक सभाको उम्मेदवार बनाएको छ।’
पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उनले लेखेकी छन् । यसपटक कंगना भाजपाको टिकटमा चुनाव लड्ने अनुमान गरिएको थियो । कंगनाले एक दिन अगाडि मात्र चुनाव लड्ने संकेत दिएकी थिइन्।
पाँचौं सूचीमा भाजपाले उत्तर प्रदेशका १३ सिटका लागि उम्मेदवारको नाम पनि घोषणा गरेको छ। लोकप्रिय धारावाहिक रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविललाई भाजपाले मेरठबाट टिकट दिएको छ।
प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार
Comments