काठमाडौं । सिनेमा हलमा प्रर्दशन भइरहेको फिल्म कबड्डी ४ कि अभिनेत्रीविरुद्ध चाबहिलस्थित केएल टावर अगाडि प्रर्दशन भएको छ। अभिनेत्री मिरुना मगरले कसुर नै नगरी एक युवकलाई थुनाएको दाबी गर्दै प्रर्दशनकारी मगरको विरोध गरेका हुन्।
आइतवार दिउँसो सुन्धरास्थित एक सिनेमा हलमा एक युवकले आफुलाई दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो। ती युवकले कुनै पनि अभद्र व्यवहार नगरेको र उनी भिक्षु रहेको भन्दै प्रर्दशनकारीले युवकको रिहाइको माग गरेका छन्। त्यस्तै अभिनेत्री मगरले माफी माग्नु पर्ने उनीहरुले माग गरिरहेका छन्।
मुगु घर भएका २४ वर्षीय फुर्वालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ‘दुर्व्यवहार गरेको भन्ने जानकारी आएपछि हाम्रो टोलीले नियन्त्रणमा लिएको हो। अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।
यो घटना आइतवार दिउँसो हो। अभिनेत्री मगरले आफूलाई युवकले गलत मनासयले शरीरमा छोएको आरोप लगाएका छिन्। शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलमा कबड्डी ४ प्रर्दशनमा आएको छ। केएल टावर अगाडि प्रर्दशन गरिरहेका प्रर्दशनकारीले फिल्मको पोष्टर समेत जलाएका छन्।
प्रकाशित मितिः २०७९ जेठ १७ मंगलबार
Comments