काठमाडौं । बलिउड क्विन उर्फ कंगना रनौतको ‘धाकड’ रिलिजको केही दिनमै प्रदर्शन रद्द गरिएको छ । यही मे २० मा रिलिज भएको चलचित्रलाई दर्शकको राम्रो साथ नभएपछि धेरै हलमा प्रदर्शन रद्द गरिएको छ ।
प्रदर्शनको भोलिपल्टै त्यो पनि विकेन्डमा (शनिबार) नै धेरै हलहरूले चलचित्र रद्द गरिसकेको थियो । कारण त्यत्रो हलमा १०–१५ जना दर्शक मात्रै राखेर चलचित्र चलाउनुको कुनै अर्थ नभएको भन्दै धेरै हलहरूले शो निकालेको हो । कति मल्टिप्लेक्सहरूले पनि शो घटाएको हो । यो क्रम अझै बढेर आइतबार झनै धाकडलाई शो घटाएर दर्शकको डिमान्डमा ‘भुलभुलैया-२’ का लागि दिइयो ।
प्रदर्शनीको पहिलो दिन करिब भारु ५० लाखको मात्रै कमजोर व्यापार गरेको थियो । “दर्शकमा ‘धाकड’ हेर्ने कुनै उत्साह नै छैन । रिर्पोटका अनुसार ओपनिङको दिनमा नै हलमा हातमा गन्न सक्ने जति मात्रै दर्शक थिए ।
देशका धेरै हलहरूमा कम दर्शकका कारण शो रद्द गरिएको छ । त्यसमाथि ‘वड अफ माउथ’ एकदमै खतम छ” एक स्रोतलाई उद्धत गर्दै बलिउड हंगामा लेख्छ, “यता ‘भुलभुलैया-२’ दर्शकले रुचाइरहेका छन् ।
तसर्थ, दिनानुदिन यसको पकड बलियो भइरहेको छ भने ‘धाकड’ ले दर्शकबाट रिजेक्सन पाइरहेको छ ।” करिब २ हजार एक सय स्क्रिनसहित ओपनिङ भएको चलचित्रको शो घटेर आइतबारसम्म आइपुग्दा करिब ३०० स्क्रिनमा सीमित भइसकेको छ ।
प्रकाशित मितिः २०७९ जेठ ०९ सोमबार
Comments