काठमाडौं । ‘मिस नेपाल सुप्रानेश्नल २०२०’ सिमल कनौजिया पोल्याण्ड पुगेकी छिन्। पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रानेश्नल’ प्रतियोगिताको १२ औँ संस्करणमा सहभागी हुन उनी पोल्याण्ड पुगेकी हुन्। आउँदो अगस्त २१ मा पोल्याण्डको नोवा स्याजमा आयोजना हुने प्रतियोगितामा सिमल कनौजियाले नेपालको प्रतिनिधित्व गर्दैछिन्।
सिमलले प्रतियोगिताको ‘नेश्नल कस्ट्युम’ विधामा सहभागी हुँदा लगाउन पहिरन सार्वजनिक गरेकी छिन्। इनस्टाग्राममार्फत उनले यसपटक उनले आफ्नो पहिरन सार्वजनिक गरेकी हुन्।
बेलायती र भारतीय सेनामा रहेर नेपाललाई चिनाएका ‘गुर्खा’ हरुको सम्मानमा यसपटकको पोसाकलाई तयार पारिएको छ। गुर्खा सैनिकले लगाउने पोसाककै शैलीमा सिमलको ‘नेशनल कस्ट्युम’ बनाइएको हो।
‘नमुना कलेज अफ टेक्नोलोजि’ का १५ औँ ब्याचका विद्याथीहरुले सिमलको पहिरन डिजाइन गरेका हुन्। ‘ट्रिब्युट टु द गुर्खाज्’ लेखिएको सैन्य पोसाकको डिजाइन मनिस राई, अर्पण शर्मा ढकाल, अस्मिता राई, कल्पना विश्वकर्मा, मिला बज्रचार्य, विना मानन्धर लगायतका टिमले तयार पारेका हुन्।
गुर्खालाई सम्मान गर्दै तयार पारिएको पोशाक लगाएर नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको उनले बताएकी छिन्।
‘यो देशको छोरी हुनुमा गर्व लाग्छ। जो आफ्नो संस्कृति, शान्ति र सद्भावका लागी मात्र नभई बहादुर गोर्खाहरुले छोडेको विरासत को लागि पनि परिचित छु उनले लेखेकी छिन्।
प्रकाशित मितिः २०७८ साउन २० बुधबार
Comments