काठमाडौं । बंगलादेशमा जारी यू–१९ साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाली महिला टोली १–० ले विजयी भएको छ। भुटानलाई हराउने क्रममा दोस्रो हाफमा गरेको एकमात्र गोल नेपालका लागि निर्णायक बन्यो। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो भने भुटानले भारतसँग १० गोल खाएको थियो।
ढाकामा भएको खेलमा नेपलाले तुलनात्मक रुपमा दबाब बनाएपनि गोल गर्न भने सकेन। दक्षिण एसियामा कमजोर मानिंदै आएको नेपाल विरुद्ध भुटानी खेलाडीहरुले साहसीक प्रदर्शन गरेका थिए। नेपालको जितमा सेनु परियारले ५४ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।
पहिलो तथा दोस्रो हाफमा गोलका केही सुन्दर मौका चुकाएको नेपालले अन्तिम सम्म केही राम्रा अवसर बनाएको थियो। नेपाल भुटानविरुद्ध बंगलादेशको प्लेइङ ११ मा तीन खेलाडी परिवर्तन गर्दै मैदानमा उतारेको थियो। आजनै दोस्रो खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्दै छन्।
प्रतियोगिताको पाँचौ संस्करण चलिरहँदा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। यो उमेर समूहमा बंगलोदश सर्वाधिक तीन र भारत एक पटक च्याम्पियन भएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्ने छ। फाइनलमा पुग्न नेपालले भारतलाई हराउनुपर्ने छ।
प्रकाशित मितिः २०८० माघ २१ आइतबार
Comments