काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले अब फाइनल प्रवेशका लागि युएईसँग खेल्ने भएको छ । बिहिबार भएको खेलमा युएईले हङकङलाई २२ रनले पराजित गरेसँगै समुह बि को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । नेपाल समुह ए को उपविजेतामा सिमित हुँदै फाइनल प्रवेशका लागि युएईसँग खेल्ने भएको हो ।
युएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५४ रनमा रोकियो । हङकङका लागि एन्सी रथले सर्वाधिक ५९ रन बनाए । उनले ४७ बलमा ८ चौका प्रहार गर्दै ५९ रनको योगदान गरेका हुन् । त्यस्तै अजिज खानले २६, कप्तान निजाकत खानले २५ र नरसुल्ला रानाले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
युएईका लागि अलि नासर जाहुर खानले दुई दुई विकेट लिँदा निलांश केश्वानी र जुनेद सिद्धिगीले एक एक विकेट लिए । यसअघि मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको छ ।
युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार चौका र तीन छक्काको मद्दतले ५१ रन बनाउँदै आउट भएका हुन् । त्यस्तै कप्तान मोहम्मद वसिमले ४६, आलिशान साफारुले ३४ र बृतिया अरबिन्दले १९ बनाए । अलि नासिर एक तथा आयान अफजल खान दुई रनमा अविजित रहे । हङकङका लागि यासिम मुर्तजाले तीन, नरसुल्ला रानाले दुई र इशान खानले एक विकेट लिए ।
प्रकाशित मितिः २०८० कार्तिक १६ बिहिबार
Comments