काठमाडौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा पीएसजी बायर्नसँग १-० ले पराजित भएको थियो । तर, समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो । पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो ।
पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्याउन पर्याप्त भएन ।
पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । साविक विजेता बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिनु परेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख १ बुधबार
Comments