काठमाडौं । मिगौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएलगत्तै गभर्नर नियुक्ति प्रक्रिया थालिने भएको छ। अहिलेका गभर्नर डा। चिरञ्जीवी नेपालको कार्यकाल अर्को साता (चैत ५ गते बुधबार) सकिने भएकाले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन लागिएको हो।
सामान्यतया गभर्नर अवकाश हुनुअघि नै नयाँ गभर्नर सिफारिस गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। गभर्नर नेपालको कार्यकाल एक साता मात्र बाँकी रहँदा पनि नयाँ गभर्नर नियुक्ति प्रक्रियामा बिलम्व भएको छ। ओलीको डिस्चार्जपछि पहिलो मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गर्ने भएको छ।
सरकारले नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा। युवराज खतिवडाको संयोजकत्वमा समिति गठन गर्ने तयारी गरेको छ। तीन सदस्यीय समितिको संयोजकमा अर्थमन्त्री, अन्य दुईजनामध्ये एकजना पूर्व गभर्नर र अर्को एकजना वित्तीय क्षेत्रका अनुभवी व्यक्ति हुने छन्।
समितिले तीनजनाको नाम सिफारिस गर्नु पर्छ। तीनजनामध्ये एकजनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्ने छ। तीनजनामध्ये एकजना बहालवाला डेपुटी गभर्नरबाट नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। यतिबेला गभर्नरको दौडमा बहालवाला डेपुटी गभर्नर शिवाकोटी र श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा लिइएको छ।
प्रकाशित मितिः २०७६ फागुन २८ बुधबार
Comments