काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिंग क्षेत्र दक्षिण एसिया कै उत्कृष्ट रहेको बताएका छन् । बैंकहरुले उच्च लगानी विस्तार गर्दा पनि खराब कर्जा १ प्रतिशतको हाराहारीमा हुनुले बैंकिङ क्षेत्र सबल बन्दै गएको उनले बताए । निक्षेप तथा कर्जा सुरक्षण कोषले बनाउन लागेको भवनको शिलान्यस गर्दै उनले भने, ‘नेपाली बैंक सवल बन्दै गएकोले विदेशीले पनि विश्वास गर्दै नेपालका बैंकहरुलाई ऋण दिन लागेका छन् । देशको क्रेडिट रेटिङ पछि विश्वास अझै बढ्दै जान्छ ।’
निक्षेप तथा कोषको स्थापनापछि बैंकमा राखेकोे निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको छ । उनले भने, निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै कोही नागरिक मेरो निक्षेप डुब्न लाग्यो भनेर बैंकको काउन्टरमा जानु पर्ने अवस्था छैन । पछिल्लो १० वर्षमा बैंक डुब्न लाग्यो भनेर बैंकमा निक्षेप झिक्न गएका छैनन । ’
निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना गर्दा यसको काम छैन भन्नेहरुनै पछि आएर यसलाई बलीयो बनाउनुपर्छ भनेर लागेको उनले बताए । बैंकहरु थप समस्यामा नपरुन भनेर यस संस्थालाई सरकारले पनि बलियो बनाउँदै लगेको उनले बताए । राष्ट्र बैंकको अधिकांश स्वामित्व रहेको संस्थामा ऐन संशोधन सँगै स्वामित्व घट्दै गएको र सरकारको शेयर स्वामीत्व बढाउँदै लगेको उनले बताए । चालु आर्थिक वर्षमा नै ५ अर्ब पूँजी थपेर कोषको पुँजी ८ अर्ब बनाएको र यसलाई थप बलीयो बनाउन थप २ अर्ब रुपैयँ पूँजी चालु आर्थिक वर्षमा थप गरिने पनि उनले बताए ।
प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार
Comments