काठमाडौँ । मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ। सोमबारको सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो।
‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ,’ सर्वेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँले मुलुक ऋणमा परेको देखिन्छ। ‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजार १ सय ७४ रुपैयाँ छ,’ सर्वेक्षणमा छ।
त्यसलाई हालको जनसंख्या २ करोड ९५ लाख ५ सयले भाग गर्दा एक जना नेपालीमा ऋणको हिस्सा ३३ हजार रुपैयाँभन्दा बढी देखिएको हो। यो ऋण अघिल्लो वर्ष प्रतिनेपाली ३१ हजार ४ सय ९३ रुपैयाँ थियो। अब उठाउने ऋणलाई समेत जोड्दा ३६ हजार पुग्छ। पुँजीगत खर्च कम भएका कारण स्रोत अभाव नभएर यस पटक सरकारले आर्थिक वर्षको अन्तिममा आन्तरिक ऋण उठाउने भएको हो। केही दिनभित्रमै आन्तरिक ऋण उठिसक्ने राष्ट्र बैंकले जनाएको छ।
हालसम्म लिएको ऋणमध्ये विदेशी निकायको हिस्सा बढी छ। ‘३ खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र ५ खर्ब ९५ अर्ब बाह्य ऋण छ,’ अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै भने। हालसम्मको ऋण कुल गार्हस्थ उत्पादन जीडीपी को करिब ३१ प्रतिशत मात्रै हो। अर्थविद् केशव आचार्यका अनुसार जीडीपीको ५० प्रतिशतसम्म ऋण लिन सकिन्छ।
‘७०-८० प्रतिशत नाघेपछि होसियार हुनुपर्छ, त्यसकारण अहिल्यै ऋण बढी भयो भनेर डराउनुपर्दैन,’ उनले भने, ‘तर हाम्रो समस्या ऋण बढ्ने, पुँजीगत खर्च नबढ्ने भइरहेको छ। ऋणले अर्थतन्त्रलाई थप बढाउन सकिरहेको छैन।’ गएको १५र२० वर्षदेखि ऋण सही प्रयोग गर्न नसकिरहेको उनले बताए। ‘ऋण लिएर विकास गरिरहेका आयोजनाहरूको अवस्था कमजोर छ,’ उनले भने। अब भने ऋण लिँदा ध्यान दिनुपर्ने उनको धारणा छ। ‘हाम्रो राजस्वले चालु खर्च धान्न छाडिसकेको छ। चालु खर्चमा समेत वैदेशिक सहयोग तथा ऋण लिनुपर्ने अवस्थामा पुग्दैछौं,’ उनले भने, ‘त्यसकारण आगामी दिनमा हाम्रो सरकारले होसियारीपूर्वक ऋण लिनुपर्छ।
प्रकाशित मितिः २०७६ जेठ १४, मंगलबार
Comments