काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपैँया भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले आज देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताए ।
डिडिसीले किसानलाई दिनुपर्ने एक अर्ब ५० करोड रुपैँया बाँकी छ । बिहीबारदेखि ४० करोड वितरण भएपछि अझै एक अर्ब १० करोड रुपैँया बक्यौता रहने बताउँदै उपमहानिर्देशक अधिकारीले त्यो बाँकी रकम पनि बिस्तारै भुक्तानी गरिने बताए । अहिले बिक्रीमा पनि वृद्धि भएको छ, मौज्दात रहेको दुग्ध पदार्थ पनि बिस्तारै खपत हुन थालेका छन्, त्यसले आम्दानीको स्रोत बढ्न थालेको बताउँदै उनले अब किसानलाई नियमित भुक्तानी गर्ने प्रयासमा रहेको बताए ।
किसानबाट दुध खरिद गर्ने र त्यो दुध बिक्री नहुँदा त्यसबाट बनाइएका बटर, धुलो दुधलगायतका दुग्ध पदार्थ मौज्दात बस्न थालेपछि भुक्तानीमा समस्या भएको थियो । दुध खरिद गर्ने तर बिक्री नभएका कारण भुक्तानी नगर्दा किसान आन्दोलित भएका थिए । सरकारले सहुलियत ऋणमा ३० करोड रुपैँया डिडिसीलाई दिएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार
Comments