काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्यका साथ सहुलियत पसल सञ्चालन हुन लागेको उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
कहाँ कहाँ खुल्छन् सुपथ मूल्य पसल ?
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यहाँ चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा प्रतिकिलो ७ रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै कर्णालीको सिमी गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो प्रतिकिलो १० रुपैयाँ छुटमा पाइनेछ ।
दुग्ध विकास संस्थानका एकीकृत पसल लगायत लैनचौर, न्यूरोड र खुमलटारमा दुग्धजन्य पदार्थ छुटमा बिक्री हुनेछ । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौंका ८ वटा केन्द्रमार्फत सुपथ मूल्यमा नुन, तेल, चिनी, चिउरा वितरण गर्नेछ । साथै कर्पोरेसनले घुम्ती पसलमार्फत पनि घरघरमा उपभोग्य वस्तु पुर्याउने जनाएको छ ।
प्रकाशित मितिः २०८० असोज ०९ मंगलबार
Comments